बडो अवसरमुखी आधार होला ,
कहाँ निश्वार्थ यो संसार होला ।
निकटता आज यो माछा र पानी ,
कुनै दिन पानी बाराबार होला ।
जहाँ अवशेष मानिसका बढी छन् ,
त्यहाँ पैल्हे कुनै दर्बार होला ।
विभाजनबीच हाल्यौ धर्म, जाति ,
त भोलिलाई अत्याचार होला ।
सुतेका छन् सबै मीठो नशामा ,
कुनै दिन ईश त्यो साकार होला ।
घटाऊ तौल आफ्नो सभ्य मान्छे ,
धरामा व्यर्थको यो भार होला ।
बचाऊ भीडमा त्यो कर्द आफ्नो ,
नयाँ यी पुष्पदलमा धार होला ।
खडा गर्नू शिखण्डीलाई रथमा ,
समरमा भीष्मको तब हार होला ।
दुखेको पाउको काँडा निकाल्नू ,
दुःखीको वास्तविक उद्धार होला ।
बताऊ कृष्णमनको लक्षणा एक ,
वचनमा सर्पको उदगार होला ।
सबै वातावरण निस्तब्ध, नीरव ,
गजलले मात्र के झंकार होला ?
रचनाकाल : २०६७ माघ २०
No comments:
Post a Comment