Sunday, March 23, 2014

गजल : कुनै दिन छोडी आएको ...


कुनै दिन छोडी आएको शहरको सम्झना आयो ,
वियाेगकाे पीरले कम्पित अधरकाे सम्झना अायाे ।।

सिताराले सुसज्जित त्याे सगरको सम्झना अायाे ,
जवानीका गगनचुम्बी रहरको सम्झना आयो ।।

डुलें नौरंगी डाँफेझैं खुला आकाशमा दिनभर ,
चरा जब गुँडमा फर्के त घरको सम्झना आयो ।।

सबैले अञ्जुली थापे , पिए , फर्केर हेरेनन् ,
नदीलाई उही आफ्नो बगरको सम्झना आयो ।।

मिलनको यादिलो मौसम बितेको भैगयो बर्सौं ,
सबै थोक बिर्सियो खाली नजरको सम्झना आयो ।।

नशा त्यो रातरानीको निशाको ढल्किंदो यौवन ,
अधूरो रातको अन्तिम प्रहरको सम्झना आयो ।।


रचनाकाल : २०६७ /१०/ २१

No comments: