Wednesday, February 9, 2011

गजल : निर्मल शिशु अरुणझैं ....


निर्मल शिशु अरुणझैं ताजा मुहार तिम्रो ,
संघर्षबीच फुल्ने उत्तम विचार तिम्रो ।

हेरी रहुँ म यस्तै यस्तै अनन्तसम्म ,
तारा र जून जडेको अनमोल जुहार तिम्रो ।

जीवनभरि कलामा ज्यूने कला सिकायौ ,
सर्वत्र आज गर्छन् चर्चा हजार तिम्रो ।

सानो भए नि दीयो विज्ञान क्रान्तिबीज ,
घनघोर तिमिर विनाशक शक्ति अपार तिम्रो ।

तिम्रै असीम अनुकम्पाले उज्याल्छ संसार ,
बुझ्नै सकिन्न साँच्चि संक्षिप्त सार तिम्रो ।

टाढा भयौ त के भो मेरो मुटुको टुक्रा ,
हरपल सुनिरहन्छु प्यारो पुकार तिम्रो ।

भेटिन्न शब्द त्यस्तो सम्पूर्ण भाव पोख्ने ,
जे होस् यो जीवनमा बिर्सिन्न प्यार तिम्रो ।

बहर : मुजारे मुसम्मन अखरब
सूत्र : (मफ्ऊल फाइलातुन्) X२ 
रचनाकाल : २०६४/११/०९

No comments: