के के पिलाई उस्ले बेसुध बनायो आज ।
कस्तो अचम्म भैगो होशै उडायो आज ।।
डगमग भएछ चाल यी ओठ थरथराए ।
चुपचाप मुदित पलकमा चुम्बन जडायो आज ।।
उर्लेर आयो बाढी सारा डुबायो बस्ती ।
आदर्श, मान्यताको मन्दिर बगायो आज ।।
खोजेर फूल सुन्दर शुभरङ्ग इन्द्रधनुषी ।
मेरो उजाड उपवन उसले सजायो आज ।।
तनमन गरें समर्पित अब छैन लोकलाज ।
उसले मलाई साँच्ची आस्तिक बनायो आज ।।
लय : बहर मुजारे
सूत्र : (मफ्ऊल फाइलातुन्) X२ (२११ २१२२ २११ २१२२)
२
सरल र सरस, काव्यको चषक्, पहेली पजल, होइन क्यारे ।
छन्द बहरको, संयोजन मात्रै, जीवंत गजल, होइन क्यारे ।।
नाफा र घाटा, यो सौदाबाजी, के सुन्दैछु म, सखारै आज ।
दिलको मन्दिर, प्रेमको गजुर, बिक्रीको पसल, होइन क्यारे ।।
चाँदीको भित्ता, सुनको छानो, आँखिर केवल, आकाश हो घर ।
घर भनेको, गिर्जाघर यानि, त्यो ताजमहल, होइन क्यारे ।।
शक्ति र श्री को, उज्यालो क्षितिज, देखेरमात्रै, शिवनेत्र खुल्छ ।
यो तिमी भन्छौ, मौकामा फाल्या, नहलमा दहल, होइन क्यारे ।।
३
नर्क देख्नलाई अब मर्नुपर्ने केही छैन।
नडराऊ खाडलमै छौं झर्नुपर्ने केही छैन।।
समस्याको समुद्र यो क्षितिजसम्म फैलिएछ।
किनारा देखिन्न कतै तर्नुपर्ने केहि छैन ।।
झारपात र ऐंजेरुले यतिसम्म गाँजेको छ।
लाग्छ अब नयाँ बिउ छर्नुपर्ने केही छैन।।
छाप्रोलाई बाढीले त कति माया गर्दोरैछ।
गाग्रो अब टाढा गई भर्नुपर्ने केही छैन ।।
हामीलाई डुबाउन आफ्नै नदी पर्याप्त छन् ।
शत्रुले त यहाँ कष्ट गर्नुपर्ने केही छैन।।
अरुसँग दाँजी हेर्दा पो हीनताबोध हुन्छ।
आफैमा त यहाँ अघि सर्नुपर्ने केही छैन।।
हारजितको फैसला सब भाग्यमाथि छोडेपछि।
जिन्दगीको दौडमा अब डर्नुपर्ने केहि छैन।।
कृष्णसिंह पेला
No comments:
Post a Comment