Tuesday, January 11, 2011

तीन गजल

(१)
भन्दिन म मेरो बस्ती उठ्नुभन्दा पहिले आऊ ।
तर सक्छौ भने घाम डुब्नुभन्दा पहिले आऊ ।।

प्राणै छुटिसकेपछि तिम्रो प्रेमले के गरुँला?
दिलको भूमि रेगिस्तान हुनुभन्दा पहिले आऊ।।

साउन मेरा आँखाबाट बेहिसाब बर्सिरहेछ।
भएजति सस्तो पानी सुक्नुभन्दा पहिले आऊ।।

आकाँक्षाका केही रंगीन पातहरु बचेका छन् ।
यो प्रतीक्षा पतझरसम्म पुग्नुभन्दा पहिले आऊ ।।

कृष्ण तिम्रो मार्गभरि धूल बनेर पर्खेको छ ।
चैतमासको हुरीमा यो उड्नुभन्दा पहिले आऊ ।।
                                       रचनाकाल – वि.सं. २०५९

                       (२)              
फेरि नजरमा तिम्रो आगो बलेको देख्छु ।
स्वप्नै भए पनि त्यो दरबार ढलेको देख्छु।।

चट्टान सरी अचल भै किन मूर्तिमौन हुन्छौ ?
भाषण दिंदा त जोडको आँधी चलेको देख्छु।।

धेरैजसोको हातमा लूतो भएछ क्या हो।
जो भेटियो उसैका पाउ मलेको देख्छु।।

को भन्दा को छ कम्ती सबले देखाउँदैछन्।
यो तन्त्रभित्र बेंसी बस्ती जलेको देख्छु।।

दुनियाँभरिमा अनुपम व्यक्तित्व जन्म लिन्छन्।
हामीलाई मात्र विधिले साह्रै छलेको देख्छु।।

यो झ्याल खुलै रहनदेऊ ताजा पवन त आउला।
भोजन नपाई सारा जिउ नै गलेको देख्छु।।

मौसम पनि गजब छ यस्तो मजाक के हो !
लिच्चीको बोटमा काठे ओखर फलेको देख्छु।।
                       /rgfsfn – lj=;+= @)^)

                          (३)
सिन्कोसम्म सार्नलाई मुख ताक्ने गर्दछन्।
गफ् भने दुनियाँभरिका खूब हाँक्ने गर्दछन्।।

बातबातमा यी कसम खान्छन् अनौठो ढंगले।
नित्य परपीडाको निम्ति द्यौता भाक्ने गर्दछन्।।

आफूमा विश्वास छैन परजीवी प्रवृत्ति छ।
सुतने, उठ्ने मामिलामा राय माग्ने गर्दछन्।।

मान्छेलाई डर भनेको मान्छेकै केवल रह्यो।
सबले हरदम साथमा हतियार राख्ने गर्दछन्।।

लक्ष्यकै अनुरुप सदा संकल्पको गाम्भीर्य होस्।
बीच बाटोमा पुगी अधिकांश थाक्ने गर्दछन्।।
                          /rgfsfn – lj=;+= @)^)
                                       –

2 comments:

भण्डारी खहरे said...

mitho sreejana sangraha,,,,,,man paryo krishna ji,,,,,yasai gari naya rachana haru padhna paayiyos....thanks.

krishnasingh pela said...

Welcome Khahareji, welcome and thanks for energetic suggestion.