Monday, January 3, 2011

तीन गजल


अधरले मुस्काइराख्छन् मनमा जहर भए पनि ।
मुर्दासरी उभिराख्छन् नाच्ने रहर भए पनि।।

तँछाडमछाड गर्दै आज मानिस कतै हराएछ।
आदिम प्राणी बस्छन् यहाँ बस्ती सहर भए पनि।।

भित्र मौन रहेर सागर आफ्नो सीमा कायम राख्छ।
सतहमा ज्वारभाटा अग्ला लहर भए पनि।।

सफरको जति मजा लिनु थियो लियो मनले ।
कुनै दिन नदी थियो आज नहर भए पनि।।

धैर्य गर, कहाँ जाला सूर्योदय नभएर ?
रात झनै गाढा हुन्छ अन्तिम प्रहर भए पनि।।


ढोका त उता छ यो त दीवार हो हजुर ।
यहाँ शिर ठोकाउनु बेकार हो हजुर ।।

सानोतिनो अपमान गर्नु स्वभाविकै मानौं ।
सम्भ्रान्तहरुको यो त संस्कार हो हजुर ।।

मुटु आफ्नो दरो पारी हेर्दै जानुहोस् ।
के के हुन्छ यहाँ यो त संसार हो हजुर ।।

हाँसो अचेल अलिकति बढ्ता नै देखिन्छ।
सायद कुनै प्रपञ्चकै प्रकार हो हजुर ।।

आफ्नै छायाँदेखि पनि डराउँछन् मान्छे ।
सालिक त वास्तविक आकार हो हजुर ।।

जुनसुकै कुरामा पनि शङ्का गर्नुहुन्छ ।
लाग्छ यो त आत्मज्ञानको संघार हो हजुर।।

(३)
विज्ञापनमा सौन्दर्य र सुगन्ध छ ।
यो फूलको इरादा पनि बुलन्द छ ।।

विश्वक्रान्तिले निभाउने चेष्टा गरयो।
निभेन यो भोकको अग्नि ज्वलन्त छ।।

आफ्नो भार त उठाउने कोसिस गर ।
सपना देखनुमा त बेग्लै आनन्द छ।।

खुला आकाश देखेर के मख्ख पर्छौ?
पंख काट्ने यहाँ सारा प्रबन्ध छ।।

आफन्तले धोका गर्न खोज्यो भने ।
षडयन्त्रको सम्भावना अनंत छ।।

आगो पलाउँछ, ज्वाला मात्रै फुल्छन् ।
कुन्नि यहाँ कस्तो खालको बसंत छ।।

— कृष्णसिंह पेला

No comments: