(१)
पिउने क्षमता भए त सागर अञ्जुलीमा नि अटाउन सक्छ।
एउटै थोपामात्रले पनि वर्षौंको प्यास मेटाउन सक्छ।।
संगीतको झरी झरेको भए दिलको फूल फक्रिन्थ्यो सायद,
अमृत नपाई सुकेको माटो पानीले कहाँ भिजाउन सक्छ ?
प्रीतिको वचन भैदिए पुग्छ जीवनको यात्रा यस्तै छ क्यारे।
गंतव्य विना हिंड्नेले पनि खोजेको कुरा भेटाउन सक्छ।।
बाँचेकै देख्छन्,हिंडेकै देख्छन्, रहस्य के छ कस्लाई चासो?
अतीतको संवेग बाँकी भएमा त्यसैले पनि हिंडाउन सक्छ।।
सपनामा कति विश्वास गर्ने, आँखामा कति भरोसा गर्ने ?
देखेकै सपना टुटेर कहिले आँखामा आई बिझाउन सक्छ।।
(२)
कुनै छाया अँगाल्नै खोज्दछन् यी हातहरु यस्तै ,
परेलीमा बितेका छन् अनेकौं रातहरु यस्तै ।
असिनाले चुटेको फूलको हाल हेर्नू फुर्सतले,
यो छातीले सहेको छ सयौं आघातहरु यस्तै ।
केहि बोल्नुपरे राजमार्ग नै अवरुद्ध गर्दैछन् ,
यहाँ देखाउँदैछन् सभ्यता , औकातहरु यस्तै ।
मुना सब गर्भमै छन् हेर कस्तो चाल मौसमको ,
यहाँ पतझर नआई झर्दछन् यी पातहरु यस्तै ।
अँध्यारोमा चलाई तीर , कुरो बङ्ग्याउने गर्छन् ,
नबोलेमा पनि लाग्छन् हजारौं बातहरु यस्तै ।
(३)
झरिरहे आँसुहरु संभाल्नै सकिन।
दर्दको यो भारीलाई उचाल्नै सकिन।।
दुनियाँले किन मलाई पागल भन्ने गर्छ ?
सायद मैले कसैको दिल पगाल्नै सकिन।।
तिमी गएपछि यति अन्धकार छायो।
मुटु जलाएर पनि उज्याल्नै सकिन।।
नदी हुँ म बगिजानु नियति हो तर।
पवित्र ती चरणहरु पखाल्नै सकिन।।
कसैको हिस्सामा काँडा पर्ला भनी मैले;
फूलहरु अँगालेन, अँगाल्नै सकिन।।
3 comments:
very nice. keep it up.
छाड़ हो टेम्पलेट त उसै दिन को निको थ्यो।
Any way Anjulima Sagarko lagi Dhanyabad.
Post a Comment